Tuesday,December 12, 2017
  • :
  • :

व्यापार

चौथो पुस्ताको मोबाइल सेवा ‘फोरजी’ सञ्चालनमा


रासस
काठमाडौ, १८ पुस । नेपाल टेलिकमले आइतबारदेखि चौथो पुस्ताको मोबाइल सेवा फोरजी सञ्चालनमा ल्याएको छ ।
विगत १८ वर्षदेखि जिएसएम सेवा उपलब्ध गराउँदै आएको टेलिकमले जिएसएम प्रविधिमा भएको नवीनतम् उपलब्धिलाई अवलम्बन गर्दै ‘लङ टर्म इभोलुसन’ (एलटिई) सेवाका रूपमा फोरजी सेवा आइतबारदेखि सञ्चालनमा ल्याएको हो ।

सेवाग्राहीको चाहना र आवश्यकतालाई प्राथमिकतामा राखी सञ्चार क्षेत्रमा विकसित प्रविधिलाई यथाशीघ्र अवलम्बन गर्ने प्रयास स्वरूप प्रारम्भिक चरणमा काठमाडौ उपत्यकाका र पोखरामा यो सेवा सुरू गरिएको हो । फोरजी सेवाको माग र सेवाग्राहीबाट व्यक्त चाहना अनुरूप अन्य क्षेत्रमा समेत क्रमिक रूपमा विस्तार गर्ने टेलिकमको योजना रहेको छ ।

एलटिई प्रविधिमा आधारित चौथो पुस्ताको मोबाइल इन्टरनेट सेवा फोरजी हो । यो प्रविधिमार्फत उच्च गतिको इन्टरनेट प्राप्त हुने हुँदा उच्च गुणस्तरीय श्रव्य–दृश्य सामग्रीलगायत बढी ब्यान्डविथ आवश्यक हुने इन्टरनेट सामग्री सजिलै डाउनलोड तथा अपलोड गर्न सकिनेछ ।

सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले आइतबार आयोजित कार्यक्रममा फोरजी सेवाको प्रारम्भ गर्दै अन्य देशको तुलनामा नेपाल अहिले पनि सूचना प्रविधिमा कमजोर रहेको अवस्थामा फोरजी सञ्चालनमा ल्याउनु आफैँमा सकारात्मक हो भन्नुभयो ।

सो अवसरमा उहँले मन्त्रालय अन्तर्गत रहेको हुलाक सेवालाई गाउगाउमा सूचना दिने माध्यमका रूपमा विकास गर्ने तयारी भइरहेको समेत जानकारी दिनुभयो । ‘नेपालको आकाशमा नेपालको आप्mनै भूउपग्रह (स्याटलाइट), नेपालको धर्तीमा नेपाली झन्डा अभियान’अन्तर्गत सरकारले अन्तरीक्षमा नेपालको आप्mनै स्याटलाइट राख्ने तयारी गरिरहेको मन्त्री कार्कीको भनाइ छ ।

मन्त्रालयका सचिव तथा नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष महेन्द्रमान गुरूङले सूचना र प्रविधिमा आएको परिवर्तनलाई अंगीकार गर्दै फोरजी सञ्चालनमा ल्याइएको बताउनुभयो ।
टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले फोरजी सेवा सञ्चालनपश्चात कम्पनीको बजार हिस्सा र राजस्वमा उल्लेख्य रुपमा वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।

फोरजी सेवा प्रयोग गर्न आप्mनो मोबाइल फोनमा फोरजी चल्ने र सोही अनुरुपको सीम कार्ड हुनुपर्दछ । आफूले प्रयोग गरिरहेको सीमबाट फोरजी सेवा सुरु गर्न ‘ह्याच ४४४ स्टार’ डायल गरी प्राप्त निर्देशनअनुरूप सीम परीक्षण गर्न तथा फोरजी सेवा सूचारू गर्न सकिनेछ । हाललाई यो सेवा जिएसएम पोस्टपेड मोबाइलमा मात्र उपलब्ध हुनेछ ।

फोरजी सेवा काठमाडौ उपत्यकामा दूरसञ्चार कार्यालयहरू – चाबहिल, हात्तीगौडा, गोंगबु, सुन्धारा, छाउनी, बबरमहल, जावलाखेल, साझा भवन, ठिमी र भक्तपुर तथा पोखरामा दूरसञ्चार कार्यालय महेन्द्रपुलबाट नियमित प्रक्रियामार्फत फोरजी चल्ने सीम (यू–सीम) प्राप्त गर्न सकिने टेलिकमका वायरलेस सेवाका निर्देशक अशोक थापाले जानकारी दिनुभयो । फोरजी सेवालाई थ्रीजी र टुजी सेवाको दरमा नै उपलब्ध गराइनेछ ।

सो अवसरमा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दीगम्बर झाले विश्वका अन्य मुलुकमा पहिले नै सञ्चालनमा ल्याइएको फोरजी सेवालाई नेपालले ढिलै भए पनि सञ्चालनमा ल्याउनु सकारात्मक भएको बताउनुभयो ।

आफ्नो मत व्यक्त गर्नुहोस्

अन्य समाचार...