Saturday,April 21, 2018
  • :
  • :

अन्तरवार्ता

‘राखेपको सदस्य सचिवले डेढ करोड खेलाउन पाउँछ’

‘राखेपको सदस्य सचिवले डेढ करोड खेलाउन पाउँछ’

२१ असार, काठमाडौं ।

राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिवमा एमालेसँग पौंठेजोरी खेल्दै चारवर्षे कार्यकाल पूरा गरेर भर्खरै अवकाश पाएका युवराज लामाको अनुभवमा यो पदका लागि पैसावाल मानिसले एक/दुई करोडसम्म खर्च गर्ने गरेका छन् । आखिर के ग्ल्यामर छ राखेपको सदस्य सचिवमा लामाको तर्कअनुसार राखेपको सदस्य सचिवमा मुख्यतः पाँचवटा आकर्षण छन् :

एक, यो विशिष्ट श्रेणीको सरकारी नियुक्ति हो, मासिक ४० हजार तलब पाइन्छ, अन्य सुविधा छन्, पेट्रोल हाल्न पाइन्छ । दोस्रो- करिब डेढ करोड रुपैयाँको बजेट खेलाउन पाइन्छ । तेस्रो, विदेश जान पाइन्छ, एकपटक विदेश जाँदा २/३ लाख रुपैयाँ बच्छ । चौथो, जिल्ला खेलकुद समितिमा आफ्ना कार्यकर्ता भर्ती गर्न पाइन्छ । र, पाँचौं- सबै दलका शीर्षनेतासँग सीधा पहुँच बनाउन सकिन्छ ।

लामा चार वर्षसम्म खेलकुद परिषदमा रहँदा खेल क्षेत्रमा राम्रो छाप छाडेर एक महिनाअघि विदा भएका छन् । एमाले मन्त्रीले हटाउन खोज्दा सर्वोच्चबाट थमौती पाएर चार वर्ष लामो कार्यकाल ‘सफलतापूर्वक’ पूरा गरेका उनी हाल थान्का व्यवसायमा आफूलाई व्यस्त राखिरहेका छन् ।

लामाले आफ्नो चारवर्षे कार्यकालको रोचक अनुभव अनलाइनखबरसित यसरी वर्णन गरे :
|
वि.सं.०६६ साल, जेठको कुनै दिन माओवादीका नेता शक्ति बस्नेतको मलाई फोन आयो । उहाँ भेट्न इच्छुक हुनुहुन्थ्यो ।
त्योबेला झलनाथ खनाल नेतृत्वको सरकारमा माओवादी सहभागी हुने तयारी गर्दै थियो । भावी खेलकुदमन्त्रीमा बस्नेतको नाम चर्चामा थियो । उहाँले मसित भेट्न खोज्नुको कारण मैले सहजै अनुमान गरेँ । म औपचारिकतवरबाटै माओवादी पार्टीमा प्रवेश गरेको एउटा सेलिबि्रटी भएका नाताले माओवादी मलाई कुनै जिम्मेवारीमा पुर्‍याउन चाहन्थ्यो ।
सुरुमा मलाई चलचित्र विकास बोर्डको अध्यक्ष बन्न प्रस्ताव आएको थियो । मैले ठाडै अस्वीकार गरेँ । मलाई चलचित्रको सानो दायरामा बस्न मन भएन । त्यसपछि नेपाल टेलिभिजनको अध्यक्ष बन्ने अफर आयो । त्यो पनि मैले चित्त बुझाइँन । मैले हाँसी-हाँसी ‘टेलिभिजनमा मेरो अनुभव छैन,’ भनेर टारेँ ।

एकदिन चलचित्रसम्वन्धी एउटा छलफलका क्रममा माओवादीनिकटका साथीहरुले अब खेलकुद मन्त्रालय हाम्रै पोल्टामा पर्छ भन्ने चर्चा गर्नुभयो । मेरा कान ठाडा भए । किनकि खेलकुद मेरो अत्यधीक रुचीको क्षेत्र थियो ।

चलचित्रकर्मीका रुपमा परिचित भए पनि मेरो पृष्ठभूमि खेलकुद नै हो । अखबार पढ्दा मनोरञ्जनपछि खेलकुद पृष्ठ नै पल्टाउथेँ । खेल क्षेत्रका समस्याहरुबारे भलिभाँती परिचित थिएँ ।

खेलकुद मन्त्रालय पार्टीले पाउने भए मैले यो-यो काम गर्न सकिन्छ भनेर मौखिकरुपमा एउटा खाका सुनाएँ । गणेश भण्डारीजी भोलिपल्टै दौडिनुभएछ माओवादी हेडक्वार्टरमा रिपोर्टिङ गर्न । त्यसैको केही दिनमा हो, शक्ति बस्नेतको फोन आएको ।

उहाँसितको भेटमा मैले आफ्नो खेलुकदको पृष्ठभूमि सुनाएँ र सरसर्ती आफ्ना कुरा राखें । उहाँ पनि पुरानो एथलेटिक्स खेलाडी हुनुहुँदोरहेछ । उहाँले फ्याट्ट भन्नुभो, ‘ल (सदस्य सचिवको) जिम्मेवारी लिनुपर्छ, तयारी गर्नुस् ।’ दह्रो हात मिलाएर हामी छुट्टयिौं ।

तर, बस्नेतजी खुलकुद मन्त्री हुनुभएन । हितबहादुर तामाङजीले खेलकुद मन्त्रालयको जिम्मेवारी पाउनुभो । म अन्योलमा परेँ ।

केही दिनपछि प्रचण्डका स्वकीय सचिव समिर दाहालको फोन आयो । उहाँले हितबहादुरकहाँ भेट्न जानुस् त भन्नुभो । जेठ ६ गते म उहाँलाई भेट्न गएँ । उहाँसित पनि मैले फेरि तिनै कुरा भट्याएँ । उहाँले त्यसलाई कति गम्भीररुपमा लिनुभयो, मेसो पाइनँ । कुनै वचन नदिई हिँड्नुभयो ।

जेठ १८ गते अचानक उहाँले फोन गरेर निवासमै भेट्न बोलाउनुभो । यसपटक म १४ बुँदे लिखित प्रस्ताव लिएर पुगेँ । त्यस प्रस्तावमा खेलकुद क्षेत्रमा यो-यो समस्या छन् र तिनलाई यसरी समाधान गर्नुपर्छ भन्ने कुराहरु बुँदागत रुपमा उल्लेख गरेको थिएँ ।

सदस्य सचिव बन्न कम्तिमा १० जनाले माओवादी हेर्डक्वार्टरमा धाइरहेका रहेछन् । खेलकुदमन्त्रीले प्रचण्डलाई भेटेर उभिई-उभिई सुनाउनुभएको रहेछ । ‘अध्यक्षज्यू, १० जनाको नाम आएको छ, एकजनाचाहिँ लिखित योजनासहित आउनुभएको छ,’ हितबहादुरजीले यसो भनेपछि प्रचण्डले सोध्नुभएछ, ‘लिखित योजना पेस गर्ने को हो ?’ हितबहादुरजीले जवाफ दिनुभएछ, ‘युवराज लामा ।’

अध्यक्षले तत्कालै ‘ल युवराजजीलाई (सदस्य सचिवमा) पठाउनुस् । बाँकीलाई अरु ठाउँमा एडजस्ट गर्नुस् ।’
तत्कालै मलाई फोन आयो । भनियो, ‘अध्यक्षबाट ओके भइसक्यो, भोलि क्याबिनेटमा जान्छ । पूरा तयारी गर्नुस् ।’ अन्ततः २९ जेठका दिन मलाई क्याबिनेटले राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव नियुक्त गर्‍यो, ६ जना सदस्यहरुसहित ।

Yubaraj-lama-400मलाई नियुक्त गर्दा प्रचण्ड र हितबहादुरले रिस्क मोलेकै हो । किनकि म त एक चलचित्रकर्मीका रुपमा चिनिएको थिएँ । एउटा कलाकारलाई खेलकुदको बागडोर सुम्पिँदा ठूलो विरोध आउन सक्थ्यो । नभन्दै आयो पनि । पार्टीको शीर्ष नेतृत्वबाट नआए पनि तल-तल खुबै उफ्रीपाफ्री भयो । ‘यस्तै पाराले पार्टी खत्तम हुनेभो’ भन्नेखालका प्रतिक्रियाहरु सुनिए । एक वर्षसम्मै पार्टीभित्र र बाहिर मेरो नियुक्तिको आलोचना भइरहेको थियो ।

भोलिपल्ट परिषदमा स्वागत कार्यक्रम थियो । माओवादीकै केही साथीहरुले कालोखझण्डा देखाउन खोज्नुभएको सुनें । तर, मेरो खेलकुद पृष्ठभूमि बुझेपछि त्यो योजना स्थगित भएछ । म पूर्व कराँते खेलाडी भएको नाताले स्वागत कार्यक्रममा लगभग ३-४ सय कराते खेलाडीहरुको उपस्थिति रह्यो ।



म प्रवेश गर्दा खेलकुद परिषदभित्र त्राहिमाम थियो । ०४६ सालदेखि नै परिषदलाई राजनीतिले यति नराम्ररी थिचेको छ कि कर्मचारी खुलेर सास फेर्न समेत सक्दैनन् । उनीहरुलाई सबैभन्दा ठूलो चिन्ता हुन्छ, सरुवाको । सरुवाकै डरले गर्दा उनीहरु चुइँक्क बोल्दैनन् । एउटा खसीलाई सदस्य सचिव बनाएर पठाए पनि माला लाएर स्वागत गर्छन् ।

मैले परिषदभित्र एक किसिमको मूर्दाशान्ति महसुस गरेँ । माओवादीको सदस्य सचिवले के के गर्ने हो भनेर आतंकित थिए कर्मचारी । यति खुला परिवेशमा त्यति दबिएका कर्मचारी पनि होलान् भनेर मैले कल्पना गरेको थिइँन । अन्य मन्त्रालय र सरकारी निकायका सायदै यस्तो परिवेश होला ।

परिषदमा स्थाई र अस्थाई दुई किसिमका कर्मचारी थिए । अस्थाई कर्मचारीले पाँच महिनादेखि तलब खाएका थिएनन् । स्थाई कर्मचारीको नियमित तलब आउँथ्यो, अस्थाईको आउँदैनथ्यो । कार्यालयमा इन्टरनेट थिएन, टेलिफोन काटिएको थियो । बिजुलीको पैसा महिनौंदेखि नतिरेको अवस्था थियो ।

परिषदको काम कारवाहीबाट आक्रोशित खेलाडी र प्रशिक्षकले कार्यालयका धेरैजसो ढोकाहरु लात हानेर भाँचेका थिए । सदस्य सचिव पिटिने घटना त त्यहाँ सामान्य रहेछ ।

कहाँबाट सुरु गर्ने ?
कर्मचारीदेखि खेलाडीसम्मको मनोबल उकास्ने कुरालाई मैले पहिलो चुनौतीको रुपमा ग्रहण गरेँ ।

त्योबेला परिषदमा सदस्यसचिव श्री ३ महाराजजस्तै थियो । कार्यविधि, नियमावली केही थिएन । एउटा ऐनको भरमा चलेको थियो । बजेट परिचालनदेखि लिएर कर्मचारी नियुक्तसम्म सबैमा सदस्य सचिवको एकाधिकार चल्थ्यो ।
समग्र खेलकुद क्षेत्रमै शुन्यतामा थियो । खेलकुद गतिविधिहरु ठप्प प्रायः थिए । पूर्वाधारको अवस्था दयनीय थियो । कर्मचारीले ५ महिनादेखि तलबै खान नपाएको अवस्थामा परिषदले गर्न पनि के सक्थ्यो ? मेरो पहिलो चुनौति नै कर्मचारीलाई तलव खुवाउने हुन गयो ।

मैले बोर्ड बैठक राखेर अन्य शीर्षकको रकम तानेर तलब खुवाउने प्रस्ताव गरेँ । तर, खेलकुद सचिव श्रीराम पन्तले विमति जनाउनुभो । उहाँ सिस्टमबाट जानुपर्छ भनिरहनुभएको थियो । तर, तलब खुवाउने अरु विकल्प थिएन । मैले उहाँलाई कन्भिन्स गरेँ, र कर्मचारीको बक्यौता तलव सबै खुवाइयो ।

त्यसपछि मेरो ध्यान चाँडै घोषणा हुन लागेको बजेटमा गयो । बजेटको छलफलमा टेबुल ठोकेँ । अर्थ मन्त्रालयका अधिकारी खेलकुदमा पनि के बजेट चाहियो, मान्छेले खान पाएका छैनन् भनेजस्ता कुरा गर्थे । तर, म सफल भएँ ।
मैले पहिलो दिन नै कर्मचारीहरुलाई भनेको थिएँ, ‘यहाँ म अँध्यारोमा झटारो हान्न आएको होइन । फोकस लाइट लिएर आएको छु, म आस्थाका आधारमा काम गर्दिँन । जुन पार्टीको भए पनि आइ डन्ट केयर । क्षमताका आधारमा व्यवस्थापन गर्छु । या मलाई कन्भिन्स गर्नुस्, या मैले भनेको मान्नुस् ।’

केही मिडियाले सोधेका थिए, ‘देशमा सरकार परिवर्तन भइरहन्छ, सरकार फेरिएपछि के गर्नुहुन्छ ?’
मैले जवाफ दिएँ, ‘म पार्टीले जे भन्छ, त्यही गर्छु । जहिलेसम्म बस्छु इमान्दारितापूर्वक काम गर्छु । म यहाँ दिनगन्ति गरेर बस्दिनँ ।’

कोही सचिव डाइनामिक, कोही पञ्चे पाराका

मैले आफ्नो चार वर्षे कार्यकालमा सात मन्त्री र ५ सचिव भोगेँ । म जाँदाखेरि श्रीराम पन्त खेलकुद सचिव हुनुहुन्थ्यो । सुरुमै बजेट रकमान्तरका विषयमा मेरो उहाँसित टकराव भयो । तर, कालान्तरमा उहाँ मप्रति अति सकारात्मक हुनुभयो । मैले मागेको भन्दा बढी दिन थाल्नुभो । सुदुरपश्चिममा छैटौं राष्ट्रिय खेलकुदका लागि भइरहेको तयारीको अवलोकन गर्न गएपछि मप्रति उहाँको दृष्टिकोण आकाश-पाताल फेरिएको थियो । त्यहाँबाट फर्किँदा भन्नुभो, ‘युवराजजी, तपाईंकै पालामा केही काम गरेर जानुस् है ।’

उहाँपछि सुशील घिमिरेजी छोटो समयका लागि आउनुभो । उहाँसित धेरै सहकार्य हुन पाएन । त्यसपछि हरिप्रसाद नेपाल आउनुभो । उहाँ अत्यन्त अध्ययनशील र डाइनामिक व्यक्त हुनुहुन्थ्यो । स्ट्रेट फरवार्ड कुरा गर्नुहुन्थ्यो । हाम्रो ट्युनिङ गजब भयो । उहाँसितको सहकार्यमा धेरै कामहरु भए ।

त्यसपछि आउनुभएका प्रतापकुमार पाठक मान्छे विद्धान हुनुहुन्थ्यो, तर काम पूरै पञ्चे शैलीको थियो । धनुष्टंकार दण्डवतमा विश्वास गर्नुहुथ्यो । उहाँसितको अनुभव सुखद हुन सकेन । पाठकपछि अहिले दिपेन्द्रनाथ शर्मा हुनुहुन्छ । उहाँ इन्जिनियर हुनुहुँदो रहेछ । खेलकुदका लागि पनि एकदमै राम्रो पाएँ । उहाँ लामो समय त्यहाँ टिक्नुभो भने खेलकुदलाई फाइदा पुग्नेछ ।

प्रोटोकलका हिसाबले सदस्य सचिव र मन्त्रालयका सचिव एउटै तहमा पर्छन् । दुबैजना विशिष्ट श्रेणीका कर्मचारी हुन् । यद्यपि लाइन मिनिस्ट्री भएका कारणले मन्त्रालयका सचिवलाई एक स्टेपमाथि राख्नुपर्छ । मैले पनि मन्त्रालयका सचिवलाई सधैं आफूभन्दा माथि राखेर व्यवहार गरेँ । तँ ठूलो कि म ठूलो भन्ने किसिमको व्यवहार गरिनँ । कहिले मलाई प्रमुख अतिथि बनाएर सचिवलाई अतिथि बनाउँथे, म सच्याउन लगाउथेँ ।

मन्त्रीको हकमा पुरुषोत्तम पौडेलबाहेक अरुसित कहिल्यै कुनै समस्या भएन । सुरुमा हितबहादुर तामाङ हुनुहुन्थ्यो । उहाँले नै नियुक्त गरेको हुनाले कुनै समस्या आउने कुरै भएन । त्यसपछि ओनसरी घर्ती आउनुभो, तर केही दिनमै जानुभो । उहाँपछि कमला रोका अलि लामो समय रहनुभो ।

ईश्वर पोखरेलले खेलकुद मन्त्रालय एक महिना जति चलाउनुभो । पोखरेलपछि प्रधानमन्त्री बाबुराम भट्टराई आफैंले ६ महिनाजति मन्त्रालय हेर्नुभो । त्यसपछि रामकुमार श्रेष्ठ र अन्तिममा पुरुषोत्तम पौडेल ।

मलाई सबैभन्दा सजिलो त बाबुरामका पालामा भयो । प्रधानमन्त्री भएको नाताले उहाँ आफैंले मन्त्रालय हेर्न भ्याउनुहुन्नथ्यो । त्यतिबेला मैले त आफूलाई मन्त्रीसरह महसुस गरेँ । किनकि मेरो सोझै समन्वय प्रधानमन्त्रीसित हुन्थ्यो । कुनै पनि निर्णय तुरुन्तै हुन्थे । मन्त्रालयका सचिवसित समन्वय गरेर योजना बनायो, डाइरेक्ट प्रधानमन्त्रीलाई बि्रफिङ गर्‍यो । अरु मन्त्रीले क्याविनेटमा लैजाँदा प्रश्न उठ्थ्यो । तर, प्रधानमन्त्री आफैंले लैजाँदा प्रश्न उठ्ने कुरा भएन । मन्त्रीले लैजाँदा कैयन महिनासम्म अर्थ मन्त्रालयले घुमाएर राख्थ्यो ।

पौडेलसित तनावै तनाव

सुशील कोइराला नेतृत्वको सरकारमा पुरुषोत्तम पौडेल खेलकुदमन्त्री भएपछि तनाव सुरु भयो । उहाँको बडी ल्याङ्वेज मप्रति सधैं नकारात्मक पाएँ । उहाँ माओवादीको ‘म’ पनि सुन्न नचाहने । माओवादीलाई त मान्छे नै नमान्ने ।
मेरो बुवा हिजो एमालेको कार्यकर्ता हुनुहुन्थ्यो । पार्टी कार्यकर्ताको छोरो, एउटा तामाङ समुदायको व्यक्ति सदस्यसचिव कसरी हुनसक्छ भन्ने मान्यता पो थियो कि उहाँमा ?

१३ गते हामीले उहाँलाई स्वागत गर्‍यौं । १५ गते मैले मन्त्रालयमा पुगेर उहाँसित भेट गरेँ । मैले भने, ‘म तपाईंलाई स्वागत गर्छु, गाउँकै साथी (हामी दुबैजना निजगढका हौं) खेलकुद मन्त्रालयमा आउनुभएको छ, मिलेर काम गरौं ।’ उहाँ केही नबोली मुसुमुसु हाँस्नुभो ।

फेरि म नै बोलेँ, ‘तपाईंलाई आफ्नो पार्टीबाट मलाई हटाउनु भन्ने आदेश होला, मलाई मेरो पार्टीबाट नछोड्नु भन्ने छ ।’
उहाँ यसपटक मुस्काउनु पनि भएन ।

मैले चेतावनीयुक्त सुझाव दिएँ, ‘मलाई हटाउने हो भने तीन पार्टीका शीर्ष नेतालाई राखेर राजनीतिक निर्णय गर्नुस् । नत्र अन्य कदम नचाल्नुस् ।’

उहाँले ‘ल ठिक छ’ भन्नुभो ।

त्यसको १०-१२ दिनपछि मन्त्री पौडेलले मलाई बोलाउनुभो । ‘धेरै अप्ठेरो पर्‍यो, के गर्ने ?’ उहाँले सोध्नुभो ।
मैले फेरि भनेँ, ‘मेरो पार्टीबाट त नछाड्नु भन्ने आदेश छ ।’

त्यसपछि उहाँले हाँस्दै सुनाउनुभो, ‘सदस्य सचिवका लागि ७५ लाखसम्म दिन आएका छन् ।’
मैले पनि हाँसी-हाँसी ‘होला’ भने । यो छलफल पनि यत्तिकै सकियो ।

यसपछि हामीबीच संवादहीनताकै अवस्था रह्यो । उहाँसित म दुईपटक मात्रै औपचारिक मिटिङमा बसेको छु । एकपटक एमाले अध्यक्ष केपी ओलीको सहजीकरणमा । ओलीले नै फोन गरेर मलाई बालकोटमा बोलाएर मिटिङ राख्नुभएको थियो । एसियन गेम्समा भाग लिने विषयमा सो मिटिङ भएको थियो । अर्को बैठक पनि त्यही एसियन गेम्सको समीक्षा वैठक थियो । सोही बैठकले अहिले सदस्य सचिव बनाइएका एमालेको खेलकुद महासंघका उपाध्यक्ष केशव विष्टलगायत ६ जनालाई कारवाही गर्ने निर्णय गरेको थियो ।

त्यसको एक महिना जतिपछि खेलकुद मन्त्री मविरुद्ध खुलेर उत्रिन थाल्नुभो । काठमाडौं बाहिर कार्यक्रममा बोल्दा मेरो खेदो गर्नुहुन्थ्यो । त्यसपछि एक दिन मलाई बर्खास्त गरेको चिठी परिषदमा पठाउनुभो । उहाँले मेरो नियुक्तिलाई हरिवाबु चौधरीको नियुक्तिकै निरन्तरता भनेर कार्यकाल सकिएको पत्र पठाउनुभएको थियो ।

म पनि तत्कालै सर्वोच्च गएँ । मुद्दा दायर गर्न जाँदा मेरा पछाडि तीन सयजनाको जुलुस थियो । १६ दिनपछि सर्वाेच्चले मलाई पुनर्वहाली गरिदियो । त्यसपछिका दिनमा पौडेल र मबीच हाइ-हेलो मात्रै चल्थ्यो । मन्त्री भएको नाताले म उहाँलाई नमस्ते गर्थेँ । उहाँ फर्काउनुहुन्थ्यो ।

प्राकृतिक विदाइ

अन्ततः खेलकुद परिषमा ४ वर्षे कार्यकाल पूरा गरेपछि मेरो प्राकृतिक विदाइ भयो । आफ्नो चारवर्षे कार्यकाल पूरा गरेर म निवृत्त भएँ । मेरो विदाइ एक ढंगले ऐतिहासिक नै भयो । बिदाइ आएको भिडले नै दर्शाउँथ्यो कि मेरो कार्यकाल खेर गएन । थुप्रै साथीहरुको आँखाभरि आँशु देखेँ ।

छाड्नुअघि आफ्नो कार्यकालको प्रतिवेदन सार्वजनिक गरेँ । यो खेलकुद परिषदको इतिहासमै पहिलोपटक थियो । प्रतिवेदनमा आफूले गरेका कामका साथै भविष्यमा गर्नुपर्ने कामको फेहरिस्त प्रस्तुत गरेको थिएँ । यसले नयाँ सदस्य सचिवलाई सजिलो हुने विश्वास लिएको छु ।

प्रतिवेदनलाई प्रधानमन्त्री कार्यालय, एमाले अध्यक्ष, माओवादी अध्यक्ष, अख्तियार, योजना आयोग, युवा तथा खेलकुद मन्त्रालय लगायतका निकायमा वोधार्थ पठाएँ ।

अब ‘पर्ख र हेर’ मा छु

सदस्यसचिवको जिम्मेवारीबाट मुक्त भएपछि मैले आफूलाई पछाडि फर्केर हेरेँ । जुन प्रकारले विदाइ भयो, त्यसलाई सम्झेर आफ्नो कार्यकाल अनुमोदन भएको आफैंले मनमनै घोषणा गरेँ ।

राजनीतिक अस्थिरता र अराजकताहरुका बीच परिषदले जेजति उपलब्धी हासिल गरेको थियो, त्यसमा मैले सन्तोष मानेँ ।

    अहिले सदस्य सचिवले खेलाउन पाउने भनेको करिब डेढ करोड रुपैयाँ मात्रै हो

आफ्नो आयू बढीमा चार वर्षको हो भन्ने पहिल्यै थाहा थियो । त्यसैले जिम्मेवारीबाट अलग भएकोमा कुनै पीडाबोध हुने प्रश्न नै आएन । फेरि पदबाट हट्नेवित्तिकै म सडकमा आउने पनि होइन । सदस्यसचिव हुनुभन्दा अगाडि पनि म एउटा सार्वजनिक व्यक्ति नै थिएँ । कलाकर्मीका रुपमा स्थापित थिएँ । त्यो परिचय अझै पनि मसित रहनेछ ।

अचेल आफ्नो शीर हलुका भएको महसुस गरेको छु । तर, निश्चितरुपमा एउटा प्रश्न मेरो मनमस्तिस्कमा घुमिरहेको छ । ह्वाट नेक्स्ट ? फेरि चलचित्र निर्माणमा सक्रिय हुने कि ? फेरि पार्टीले दिने अर्को जिम्मेवारीको प्रतिक्षा गर्ने कि ?
रिटायर्ड भएको केही दिनपछि मैले दुई-तीनवटा पार्टी एटेन्ड गरेँ । ती पार्टीहरुमा जाँदा नचिनेका मानिसहरु आएर हात मिलाउँदै खेलकुदमा मैले गरेको कामको सह्राना गर्थे । त्यसले मन प्रफुल्ल भयो ।

अहिले आफ्नो व्यवसायमा समय दिइरहेको छु । मेरो थान्का र कार्पेटको व्यवसाय छ । तत्काललाई यसैमा आफूलाई व्यस्त राखेको छु । एउटा फिल्मको गृहकार्य पनि गरिरहेको छु ।

म सदस्य सचिव नियुक्त हुनुअघि यो फिल्मको स्क्रिप्ट तयारी गरेको थिएँ । यद्यपि त्यो स्क्रिप्ट अहिले परिमार्जन गर्नुपर्ने भएको छ ।

मेरो अर्को रुचीको क्षेत्र पर्यटन हो । पर्यटनका विषयमा केही कागजी कामहरु पनि गरिरहेको छु । भविष्यमा बन्ने राष्ट्रिय सरकारमा पार्टी सहभागी भयो भने काम लाग्छ भनेर हो । मैले जिम्मेवारी पाएँ भने पनि नाई भन्ने कुरा छैन । अझै उमेर छ, क्षमता छ, सोच छ ।

प्रचण्डको बधाइ

सदस्यसचिवबाट विदा भएपछि पार्टी अध्यक्ष प्रचण्डलाई भेटेँ । उहाँले बधाइ दिनुभो । मैले घुमाउरोरुपमा उहाँसित भने, ‘चार वर्ष काम गरेँ, अब आराम दिने होला नि ?’ उहाँले जवाफ दिनुभयो, ‘तपाईंजस्तो मान्छेलाई आराम गर्न दिने हो भने त चिज अर्कै ठाउँमा पुगिहाल्छ नि ।’

केशव विष्टको नियुक्ति र मन्त्रीको कमजोरी

एमालेले केशव विष्टलाई सदस्य सचिवमा ल्याएको छ । मेरो उहाँसित पहिले पनि धेरैचोटि भेट भएको हो । तर, घनिष्टता होइन ।

हामीसितको मिटिङमा उहाँ एमालेको खेलकुद महासंघका तर्फबाट सहभागी बन्नुहुन्थ्यो । व्यक्तिको हिसाबले इटहरीको राम्रै मान्छे हो भन्ने सुनेको छु । आर्थिकरुपले सम्पन्न हुनुहुन्छ र क्षमता पनि छ भन्ने पनि सुनेको छु ।

     राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव यो आफैंमा एउटा शक्तिशाली पद हो

राष्ट्रिय खेलकुद परिषदमा आएपछि उहाँले बोलेका कुराहरु मिडियामा हेरेँ । उहाँका भनाइहरु सुन्दा ठिकै मान्छे हुन् भन्ने लागेको छ । विगतका राम्रा कार्यक्रमलाई निरन्तरता दिन्छु भन्नुभएको छ । ओलम्पिकमा दुईवटै समुहलाई मिलाएर लानुपर्छ भन्नुभएको छ ।

सदस्यसचिव नियुक्तलाई लिएर एमालेमा निकै हलचल भयो । यसमा म मन्त्रीकै कमजोरी देख्छु । एउटा पार्टीबाट नियुक्त भएको मन्त्री पार्टीलाई विश्वासमा लिएर काम गर्न नसक्दा यो अवस्था आएको हो ।

ग्ल्यामर के छ राखेपको सदस्य सचिवमा ?

राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव यो आफैंमा एउटा शक्तिशाली पद हो । खेलकुद क्षेत्रको हर्ताकर्ता नै हो भन्दा पनि हुन्छ ।

मभन्दा अघि त असीमित रुपमा शक्तिशाली थियो । मैले थुप्रै अधिकार कटौती गरेँ । बजेटमा हालिमुहाली गर्ने अवस्था अहिले छैन । अहिले सदस्य सचिवले खेलाउन पाउने भनेको करिब डेढ करोड रुपैयाँ मात्रै हो । अन्तर्राष्ट्रिय गोष्ठी सेमिनारको ५० लाख, अन्तर्राष्ट्रिय सहभागिताको ५० लाख र आदिवासी परम्परागत भन्नेमा १०-१५ लाख सदस्य सचिवले खेलाउन सक्छ । त्योबाहेक अरु पैसा यताउति गर्‍यो भने भोलिपल्टै जेल जानुपर्छ । किनकि खेलकुदका सबै बजेट अहिले पी-१ मा राखिएका छन् ।

संगठन निर्माणका लागि ठूलो बेस बनाउने अवसर यहाँको प्रमुख आकर्षण हो । पहिले त ७५ वटै जिल्लामा कर्मचारी नियुक्त गर्न सक्ने अधिकार पनि थियो । त्यो अहिले छैन । यद्यपि सबै जिल्लामा खेलकुद विकास समिति बनाएर पार्टीका कार्यकर्तालाई समेट्न सक्ने अवस्था हुन्छ ।

यसरी पार्टीभित्र उचाइमा पुग्न र प्रभुत्व निर्माण गर्न यो पदले भर्‍याङको काम गर्छ ।

एउटा सदस्यसचिव प्रत्येक दलका शीर्षस्थ नेतासित सोझो पहुँच राख्न सक्छ । मेरो माओवादी नेतासित मात्रै होइन, कांग्रेस, एमाले राप्रपा सबै दलका उच्चतहका नेताहरुसित अन्तरसम्वन्ध रह्यो । म बारम्बार खेलकुदका मुद्दाहरुलाई लिएर उहाँहरुसम्म पुग्थें ।

अर्को आकर्षणको विषय भनेको यसमा विदेश भ्रमणको अवसर पनि हुन्छ । विदेश नघुमेकाहरुका लागि त यो ठूलै आकर्षणको विषय हो । विदेश घुम्दा एकपटकमा डेढ- दुई लाख बचाउन पनि सकिन्छ । मेरो लागि भने यो ठूलो आकर्षणको कुरा भएन । किनकि सदस्यसचिव नहुँदा पनि विदेश भ्रमण गर्न मलाई दुख थिएन ।

सरकारको विशिष्ट कर्मचारी भएकाले मासिक तलव ४० हजार रुपैयाँ आउँछ । पेट्रोल खर्च पाइन्छ । भीआइपी फेसिलिटी प्रयोग गर्न सकिन्छ । आर्थिक लाभका अन्य वैधानिक स्रोत त्यस्तो केही छैन ।

कोही मान्छेसित प्रशस्त पैसा छ, तर नाम र पहुँचको भोको छ भने उ १-२ करोड दिएर पनि सदस्य सचिव बन्न तयार हुँदोरहेछ ।

आफ्नो मत व्यक्त गर्नुहोस्

अन्य समाचार...